विराटनगर उडेको जहाज ल्याण्ड गर्न नसक्दा काठमाडौँ फर्कियो

बुधबार, १३ असोज २०७८

मोरङ– खराब मौसमका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमान बीचबाटै काठमाडौँ फर्किएको छ।

विराटनगरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सव खरेलका अनुसार मङ्गलबार साँझ खराब मौसमको कारण विराटनगरको लागि उडेको उक्त विमान पुनः काठमाडौँ नै फर्काइएको हो।

प्रमुख खरेलले मङ्गलबार बेलुका सौर्य एयरलाइन्ससहित थप दुई कम्पनीका गरी चारवटा विमानको काठमाडौँबाट विराटनगर उडान प्रभावित भएको जानकारी दिए।

‘खराब मौसमको कारण साँझ ६ बजेपछिको चारवटा उडान विराटनगर अवतरण गर्न सम्भव भएन’, उनले भने, ‘काठमाडौँबाट यात्रु लिएर उडान भरे पनि मौसम सफा नहुँदा समस्या देखिएको थियो। जसका कारण सबै उडान रद्ध भए।’

बेलुका मौसम खराब भएपछि साँझ ६ बजेपछिको सौर्यको एउटा, यती एयरलाइन्सको एउटा र बुद्धको दुईवटा उडान रद्ध भएको खरेलले जानकारी दिए।

उडान भरेको सौर्यको जहाज बीचबाटै काठमाडौँ फर्काइएको भए पनि यती र बुद्धका विमान उडेका थिएनन्।

प्रमुख खरेलले रद्ध भएका उडान बुधबार बिहानदेखि नियमित रुपमा अघि बढेको जानकारी दिए।

विराटनगर विमानस्थलका अनुसार बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले काठमाडौं–विराटनगरका लागि दैनिक १९ वटासम्म उडान भर्ने गरेका छन्।