अख्तियार पसेपछि मुख्यमन्त्रीको छटपटी, लहरो तान्दा पहरो झर्यो
जनकपुरधाम – अख्तियारले छापा मारेको विषयमा प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको बताए ।
‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् ।
पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’
आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत राउतले बताए । आज दिउसो प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको हो ।
सरकारले २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको कार्यक्रमका विषयमा अख्तियारले छानबिन गर्न लागेको हो । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर २६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल दिइएको थियो ।
प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको भनी महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा प्रश्न उठाएको थियो ।