तीन दिनमै भत्कियो देउवा–जबरा सेटिङ, सेटिङ भत्काउन शशांकले चाले यस्तो चाल
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारमा भागे खोजेको भन्दै चर्को विवाद भयो । विवादका वावजुद पनि प्रधानमन्त्री शेरबहादुर देउवाले जबराका जेठानलाई मन्त्री बनाइदिए ।
त्यसपछि अदालत र सरकार सेटिङमा चलेको आरोप लाग्यो । उद्योगमन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले राजीनामा दिने भएपछि उक्त सेटिङ तीन दिनमै भत्किएको छ ।
प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिने भएका हुन् ।हमालले कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेपछि राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।
हिजो बेलुकी शशांकलाई भेटेका उनले शाशांकको सल्लाहअनुसार आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।
‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’
महामन्त्री कोइरालाले पनि हमाललाई मन्त्री बन्न योग्य हुँदा हुँदै पार्टीको लोकतन्त्रप्रतिको निष्ठासँग जोडेर प्रश्न उठेको बताए । उनले भने, ‘तपाईं योग्य मान्छे हो, तर बेला नै यस्तो पर्यो ।’
हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने छन् । शशांक १३औँं महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।
पौडेल समूहले आफूलाई अपमान गरेको भन्दै सुजाता कोराइराला रिसाएपछि उनलाई फकाउन शशांकले हमाललाई आफ्नो निवासमा बोलाएका थिए । त्यही भेटमा उनले राजीनामा दिएर पार्टी राजनीतिमा सक्रिए हुन सल्लाह दिएका थिए ।
अब उनको राजीनामा आएपछि सुजाता मन्त्री बन्ने पक्का भएको छ । उनी मन्त्री बनेपनि देउवा गुटबाट बन्ने विश्लेषण हुन थालेको छ ।