प्रचण्ड पनि नर्भिक अस्पतालमा !
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् ।
दमको समस्या बढेर हिजो (आइतबार)देखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।
उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।
सो क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।
आइतबार बिहान नर्भिक भर्ना भएका वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । २०५२ सालमा नेकपा माओवादीले जनयुद्ध सुरु गर्दा वैद्य दोश्रो दर्जाका नेता थिए भने प्रचण्ड पहिलो दर्जाका ।
प्रचण्डले नेपालमा भएको ससस्त्र जनयुद्धलाई संसदीय राजनीतिमा लगेर बुझाएको भन्दै असन्तुष्टि राख्दै वैद्य प्रचण्डबाट अलग भएका थिए । २०६९ सालमा पार्टी फुटाएर ड्यास माओवादी बनाएका उनले सोचे जस्तो क्रान्ति गर्न नसकेको भन्दै उनका विश्वास पात्र विप्लवले पनि विद्रोह गरेका थिए ।

पछि मणी थापाको नेकपा (क्रान्तिकारी) लगायतका पार्टीसँग एकता गरेका थिए । एकताको मोसी सुक्न नपाउँदा रामबहादुर थापासहितको ठूलो सिस्सा नेकपा माओवादी केन्द्रमा समाहित भएपछि वैद्यलाई ठूलो झट्का लागेको थियो ।
वैद्यले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषी कट्टेलको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी सम्मिलित संयुक्त रणनीति मोर्चा बनाएर नेपालको राजनीतिमा नयाँ आयाम ल्याउने कोसिस गरेका थिए ।
उक्त मोर्चाकै पहलमा प्रतिबन्धीत नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको थियो । त्यही तीन बुँदे सहमतिको आधारमा विप्लव नेतृत्वको नेकपा खुल्ला रुपमा राजनीतिक गतिविधि अगाडि बढाइरहेको छ ।