कुर्सी जोगाउन साम, दामसहित फिल्डमा उत्रिए प्रधानन्यायाधीश जबर

आइतबार, ७ कार्तिक २०७८

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफू कुर्सी जोगाउन सामा, दामसहित फिल्डमा उत्रिएका छन् । उनले यसको प्रयास स्वरुप उनले आफूमाथि उठिरहेको गम्भीर न्यायिक विचलनको प्रश्नलाई विषयान्तर गर्न वकिलहरूलाई ‘वरिष्ठ अधिवक्ता’ उपाधिको ललिपप देखाएका छन् ।

पूर्वन्यायाधीश फोरमसहित धेरैतर्फबाट प्रधानन्यायाधीश जबराका क्रियाकलापमाथि प्रश्न उठेका छन् । उनले राजीनामा दिनुपर्ने समेत दबाब बढिरहेका बेला आइतबार नेपाल बार एसोसिएसनको टोलीसँगको छलफलपछि सोमबारका लागि बोलाइएको फूलकोर्टको बैठकमा वरिष्ठ अधिवक्ता उपाधिको निर्णय गर्ने कार्यसूची राखेका छन् ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन र वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि वितरणका लागि निर्णय गर्ने एजेण्डा राखेर आइतबार पौने पाँच बजे न्यायाधीशहरूलाई फूलकोर्ट बैठकका लागि सूचना पठाइएको थियो ।

वकिलहरूलाई भुलाउने खालको एजेण्डा राखेर बैठक बोलाएपछि सर्वोच्चका १४ न्यायाधीशले सोमबारका लागि तय भएको बैठक बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।

‘प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने वा संघीय संसद्ले महाअभियोग लगाउनेसम्मको विषय आइरहेका बेला जबराले वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि बाँड्ने एजेण्डा ल्याएर विषयान्तर गर्न खोजे,’ बैठकपछि सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘न्यायपालिकाको स्वतन्त्रता नै खतरामा परेको अवस्थामा वरिष्ठ अधिवक्ताको उपाधि बाँड्ने विषय प्रधानन्यायाधीशले वकीलहरूलाई अल्मल्याउन ल्याएका हुन् ।’