३३ किलो सुन काण्डका नाइकेलाई अर्थमन्त्री शर्माले दिए यति ठूलो उपहार

शनिबार, १३ कार्तिक २०७८

काठमाडौँ – सुशासन र पारदर्शिताको गफ दिएर नथाक्ने माओवादी नेता एवं अर्थमन्त्री जनार्दन शर्माका पनि लोभ÷ लालचमा फस्न थालेका छन् ।

त्यही लाभ लिएर ३३ किलो सुन काण्डमा मुछिएका नारायण सापकोटालाई भन्सार विभागको महानिर्देशक नियुक्त गरेको चर्चा चलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन प्रमुख सापकोटाकै पालामा ३३ किलो ५७७.४० ग्राम सुन तस्करी भएको थियो ।

जसको छानविनमा प्रहरीका एसएसपीदेखि व्यापारी र भन्सारका अधिकृतसम्म तानिएका थिए । उनै सापकोटालाई शर्माले फेरी भन्सार विभागको महानिर्देशक बनाएका छन् ।

जनार्दनले अर्थमन्त्रीमा आएलगत्तै सुरुमा पूर्वप्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्राडा श्रीराम पौडेलका ज्वाई मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा नियुक्त गरेका थिए ।

त्यसपछि उनले मासिक १८ लाख तलव सुविधा भएको एशियाली विकास बैंकको सल्लाहकारमा उपसचिवलाई हटाएर शाखा अधिकृत आफ्ना भान्जीज्वाईँ भीमकान्त न्यौपानेलाई पठाउने निर्णय गरेका थिए ।

अहिले आएर जनार्दनले एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका छन् ।

पौडेलकै योजनामा एनसेल लाभकरबाट उम्केको बताइन्छ ।

एनसेल उम्काउन पौडेलले आर्थिक लाभ लिएको खबरहरु बाहिर आइसकेको छ । तत्कालीन महानिर्देशक चुडामणि शर्मा र पौडेलको समन्वयमा एनसेलबाट नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली भएको भनेर अदालतमा मुद्दा समेत परेको थियो । यसमा फैसलासमेत भइसकेको छ ।

यी र यस्ता घटनाले अर्थमन्त्री शर्माको कद घटाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको फाइदा उठाउँदै जनार्दनले परिवारवाद लाद्नेदेखि भ्रष्टाचार तथा अनियमिततामा मुछिएका मान्छेलाई विभिन्न नियुक्ति दिएर सुशासनको धज्जी उडाएका छन् ।