पत्रकार केसीलाई खुकुरी प्रहार गर्नेलाई तिन दिन भित्र पक्राउ गछौँ : प्रहरी
काठमाडौं – प्रहरीले अनलाइन टीभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई खुकुरी प्रहार गर्नेहरुलाई पक्राउ गर्ने प्रतिवद्धतो व्यक्त गरेको छ ।
भक्तपुरमा आइतबार दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै आयोजना गरिएको विरोध प्रदर्शनपछि प्रहरीले यस्तो प्रतिवद्धता जनाएको हो ।
घटना भएको १८ दिनसम्म पनि प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै अनलाइन टीभी पत्रकार संघको नेतृत्वमा आइतबार ठिमी प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय भक्तपुरमा बृहत विरोध प्रदर्शन भएको थियो ।
ठिमी प्रहरी कार्यालयका प्रमुख डिएसपी नरहरि रेग्मीले तीन दिन भित्रमा दोषीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएको घाइते पत्रकार केसीले जानकारी दिए ।
यही कात्तिक ११ गते बिहीबार विहान भक्तपुरको बालकोटमा समाचार संकलनका क्रममा पत्रकार केसी माथी खुकुरी प्रहार भएको थियो ।
खुकुरी लागेर पत्रकार केसीसहित अरु तीन जना घाइते भएका छन । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।
घाइतेहरुले घटना भएकै दिन ठिमी प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेपछि भोलीपल्ट शुक्रबार मात्रै उजुरी दर्ता भएको थियो ।
स्थानीय विष्णु कार्कीलगायतको संलग्नतामा खुकुरी प्रहार भएको भिडियो सहितको जाहेरी दर्ता गरिएको घाइते पत्रकार केसीले जानकारी दिए ।
करोडौको लेनदेनको विषयमा दुई पक्षका बीचमा विवाद भएको समाचार संकलन गर्ने क्रममा पत्रकार केसीमाथी खुकुरी प्रहार भएको थियो।