राप्रपा महाधिवेशन चलिरहेका बेलामा पूर्वपञ्चको घरमा किन पुगे ओली ?

शनिबार, १८ मंसिर २०७८

काठमाडौं – पूर्वपञ्चहरुको पार्टी राप्रपाको एकता महाधिवेशन चलिरहेका बेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वपञ्च भेट्न उनीहरुको घरमै गएका छन् । ओली शनिबार पूरानी राजनीतिज्ञ पूर्वपञ्च ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमा गुगेका हु्न् ।

पत्नी राधिकासहित पूर्व प्रधानमन्त्री ओली आफ्नो घरमा आउँदा पूर्व राज्यमन्त्री समेत रहेकी भद्रा घलेको खुसीको सिमा रहेन ।

पञ्चायतकालमा सिन्धुलीबाट ५ पटक राष्ट्रिय पञ्चायत सदस्य (हालको सांसद) निर्वाचित भएकी भद्रा घले राजपरिषद स्थायी समितिको सदस्य समेत थिइन् । पछिल्लो समय कुनै राजनीतिक दलमा नरहेकी उनी केपी ओलीको पक्षमा अभिव्यक्ति दिएर चर्चामा आइरहेकी छन् ।

ओलीको नेतृत्वमा फेरि मुलुकले बहुमतको सरकार प्राप्त गर्ने भन्दै भद्रा घलेले आफ्नो सपना पूरा भएको बताइन् । ओलीलाई घरमा स्वागत गर्न पाएकी उनले षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा आउन आशिर्वाद दिइन् ।

ओली र भद्रा घलेबीच केहीबेर भलाकुसारी भयो । ओलीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए भने भद्राको परिवारका सदस्यहरुले भने ओलीको स्वास्थ्यलाभका लागि आफूहरुले भगावनसँग प्रार्थना गरेको सुनाए ।

भद्रा घलेले अ‍ोलीसँग भेट्न धेरै पहिलदेखि चाहेकाले शनिबार समय मिलाएर जेष्ठ राजनीतिज्ञको सम्मानका लागि भेट गरिएको ओलीको सचिवालयले जनाएको छ ।

सो अवसरमा घेलेले ओलीलाई आफूले लेखेका विभिन्न पुस्तकहरु उपहार दिइन् । ९० वर्षको उमेरमाा पनि लेखपढमा व्यस्त रहने भद्रा घले पन्चायतकालकी चर्चित राजनीतिज्ञ हुन् ।

ओलीलाई विदाई गरेपछि उनले भनिन्– ‘षडयन्त्र गरेर हटाए पनि यो देशमा केपी ओलीले फेरि बहुमत ल्याउछन् । आउने चुनावमा हामीजस्ताले पनि उहाँलाई भोट दिन्छौं । मैले आशिर्वाद दिएकी छु, फेरि पनि केपी ओली दुई तिहाई बहुमतका साथ आउनुपर्छ ।’

भद्रकुमारी घलेकी आमा झक्तकुमारी घले सिन्धुलीकी एक चर्चित क्रान्तिकारी थिइन् ।

सिन्धुलीको अम्बोटे र हसाइमा २५ वर्षसम्म लगातार प्रधानपञ्च भएकी भद्राकी आमा भक्तकुमारीको बिँडो थाम्दै पञ्चायती शासनव्यवस्था आएपछि राजनीतिमा प्रवेश गरेकी भद्रा ५ पटक माननीय अर्थात् राष्ट्रिय पञ्चायत्को सदस्य बनिन् । उनकी आमा भक्तकुमारीको १०१ वर्षको उमेरमा निधन भएको थियो ।