हार्ने भएपछि चन्द्र भण्डारीले जोसमा होस् गुमाए

बुधबार, २९ मंसिर २०७८

काठमाडौँ – निर्वाचनमा हार्ने संकेत देखेपछि कांग्रेस नेता चन्द्र भण्डारीले लफडा गरेका छन् ।

नेपाली काँग्रेसको उपसभापतिका उम्मेदवारको मतगणना सुरु गर्नु अघि उनले लफडा गरेका हुन् ।

भृकुटीमण्डपबाट पार्टी कार्यालय सानेपामा लगेर राखिएको मतपेटिका डबल सिलबन्दी नगरेको पाइएको भन्दै विवाद भएको हो ।

उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीका प्रतिनिधिले मतपेटिका शंकास्पद देखिएको भन्दै विवाद सिर्जना गरेका हुन् ।

उनीहरुले आफूहरु यसबारे आश्वस्त हुन नसकेसम्म गणनास्थलमा बस्न नसक्ने भन्दै बाहिरिएका छन् ।

त्यसपछि निर्वाचन समितिले उम्मेदवार चन्द्र भण्डारीलाई नै छलफलका लागि बोलाएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भण्डारीलाई बोलाएपछि उनी सानेपा जान लागेको बताइएको छ ।

काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको नतिजा बुधबार बिहान आएपछि आज साँझदेखि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको हो ।

उपसभापति २ पदको प्रतिस्पर्धामा भण्डारीसहित दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् ।