भीम रावलको बल्ल होस् खुल्यो !

शनिबार, ३ पौस २०७८

काठमाडौँ – नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलको बल्ल होस् खुलेको छ । नेकपा एमालेले उनलाई सल्लाहकार परिषदको सदस्य बनाएको बारेमा मिडियाबाट जानकारी प्राप्त गरेको भन्दै तीन दिनपछि मुख खोलेका छन् ।

उनले यसरी आफूलाई जानकारी नै नदिई जिम्मेवारी तोकेकोमा आपत्ती जनाएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रावलले आफूल मिडिया मार्फत जिम्मेवारी पाएको जानकारी दिदै विरोध गरेका छन् ।

शनिवार सामाजिक सञ्जालमार्फत रावलले यदि सो कुरा सत्य हो भने आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् ।

उनले टिके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताएका छन् ।

रावलले भनेका छन्, ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

शुक्रबार काठमाडौँमा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सुनाउने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताएका थिए ।

पत्रकारले भीम रावललाई किन पार्टीमा कुनै जिम्मेवारी दिइएन भन्ने प्रश्नको जवाफ दिँदै उनले भनेका थिए, ‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन, त्यस अर्थमा उहाँको कार्य विभाजन भएन । हामीले गरेको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्दछ ।’

उनले भनेका थिए, ‘जिम्मेवारीका सन्दर्भमा उहाँले पार्टी अध्यक्षसँग छलफल गर्न सक्नुहुन्छ । केन्द्रीय सल्लाहकार परिषद्मा रहेर उहाँले बेला–बेलामा पार्टीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’

नेता रावलले पार्टी अध्यक्षले मनोनीत गर्ने केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका थिए ।