अनुगमनमा बाधा पुर्याउने व्यापारीको दर्ता नै खारेज गर्ने

मंगलबार, ५ भाद्र २०७५

भदौ ५, काठमाडौं –सरकारले बजार अनुगमनको क्रममा बाधा पु¥याउने व्यापारीको दर्ता नै खारेजी गर्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनमा बाधा  पुर्याउने व्यापारीको दर्ता नै खारेज गर्ने तयारी गरेको जानकारी दिएको हो । नागरिक ठग्ने र बजार अनुगमनमा बाधा पु¥याउने व्यापारीलाई कारबाहीको लागि आज मन्त्रिस्तरीय बैठक बस्ने तयारी रहेको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

हिजो कालिमाटीमा भएको घटनाबाट मन्त्रालय गम्भीर बनेको भन्दै आज निर्णय गरेर अनुगमनको विरोध गर्ने व्यापारीको दर्ता नै खारेज गर्ने र थप कारबाही गरिने ढकालले जानकारी दिनुभयो ।कालिमाटी तरकारी बजारको सिन्डिकेट तोड्न अब सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै प्रवक्ता ढकालले ठग्नुपर्छ भनेर आन्दोलन गर्ने व्यापारीको साथ नलाग्न पनि अन्य व्यापारीलाई आग्रह गर्नुभयो ।
यस्तै सरकारी अनुगमनको विरोधमा नेपाल फलफूल तथा तरकारी व्यवसायीले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने घोषणा गरेका छन् ।