एमसीसीको चर्चा चलिरहेको बेला प्रधानमन्त्री देउवालाई भेट्दै ओली, गठबन्धनमा खैलाबैला

आइतबार, २३ माघ २०७८

एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा पेचिलो बन्न थालेकाले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि बालुवाटार जाने तयारी रहेको अध्यक्ष ओलीको सचिवालय स्रोतले जनाएको छ।

स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न अध्यक्ष ओली बालुवाटार जाने तयारीमा रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतालाई अगाडि बढाउन खोजिरहेका छन्। तर सत्तारूढ गठबन्धनभित्रै यसबारे समझदारी बनिसकेको छैन।

चुनावको मिति घोषणा गर्न सत्ता गठबन्बाटै अवरोध झेलिरहेका देउवाले ओलीसँग छलफल गरेर गठबन्धनका घटकहरूलाई समेत दबाबमा पार्न खोजेका छन् ।

प्रधानमन्त्री देउवाले यसअगाडि पटकपटक राखेको सर्वदलीय बैठकमा ओली उपस्थित भएका थिएनन्। ओलीलाई बालकोटस्थित निवासमै पुगेर केही दिनअगाडि प्रधानमन्त्री देउवाले भेटघाट गरेका थिए।

देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए। त्यसअगाडि ओली प्रधानमन्त्री थिए। प्रधानमन्त्रीबाट हटेर बालकोट गएपछि झन्डै सात महिनामा ओली आज बालुवाटार जान लागेका छन्।