एमसीसीलाई धुलो चटाएर लखेट्ने हो : विप्लव

शुक्रबार, २० फाल्गुन २०७८

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले फागुन १५ गते नेपालका लागि कालो दिनका रुपमा दर्ज भएको बताए । एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुनलाई उनको कालो दिनको रूपमा दर्ज भएको बताएका हुन् ।

विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर फागुन १५ कालो दिनको रुपमा दर्ज भएको बताएका हुन् ।

‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’

नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ । अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे ।

अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकिर गरे ।

केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरित रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ ।

एमसीसी संसदबाट पारित गरेपनि नेपाली जनताले फिल्डमा लागु गर्न नदिने बताए । ‘हामी फिल्डमा छौँ, नेपाली जनता र नौजवान युवाहरु फिल्डमा छ । हामी हेर्छौँ फिल्डमा कसरी लागु हुँदो रहेछ ।’ उनले भने ।

विप्लवले शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती हो भन्नेकुराको प्रमाण एक हप्ता नवित्तै दिएको बताए । ‘केही दलालहरुले, अमेरिकाले उत्पादन गरेका कथित बुद्धिजिवीहरुले एमसीसी हिन्त प्रशान्त रणनीति अन्तरगतको योजना नभएको बताएका थिए ।’ सभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘रुस–युक्रेन युद्धका बारेमा सार्वजनिक गरेको विज्ञप्तिबाट प्रष्ट भयो । देश अमेरिकाको शैन्य रणनीतिमा प्रबेश गरिसकेको रहेछ ।’

उनले नेपाल असंलग्न परराष्ट्र नीति अनुसार चलेको भन्दै कसैको पक्षमा उभिएर विज्ञप्ति निकाल्नु अमेरिकाको दलाली गरेको बताए ।

‘नेपालले कसैको पक्ष र विपक्षमा विज्ञप्ति निकाल्नुको त परको कुरा, कसैको पक्षमा वकालत समेत गर्न हुन्न ।’ उनले भने, ‘हामीले भन्ने भनेको अमेरिका वा नेटो युक्रेनबाट फिर्ता जावस र रुसले पनि गोलावारी अन्त्य गरोस भन्न पर्ने हो । तर देउवा सरकार युक्रेनको पक्षमा खुलेर एमसीसी अन्तरगतको शैन्य रणनीतिमा सामेल भएको प्रमाणित गर्यो । यसलाई सच्याउनु पर्छ । र एमसीसीलाई नेपालबाट लखेट्न पर्छ ।’