‘जोसमा होस् गुमाएपछि’ अर्थमन्त्रीको पद धरापमा
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माको पद धरापमा परेको छ । कार्यशैलीप्रति असन्तुष्ट प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई हटाउन लागेपछि पद धरापमा परेको हो ।
अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्री देउवाले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्दै मन्त्री फेर्ने प्रस्ताव अगाडि सारेका छन् ।
प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन् ।
देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर निर्णय लिने तयारी गरेको देउवा निकट स्रोत बताउँछ ।
“उहाँ (जनार्दन शर्मा)मा अर्थतन्त्रको पर्याप्त ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्ने स्वभाव पनि नभएका कारण अर्थमन्त्री परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ श्रोतले भन्यो, ‘प्रधानमन्त्रीले चाँडै माओवादी केन्द्रलाई परराष्ट्र मन्त्रालय दिएर भएपनि अर्थ मन्त्रालयमा अर्कै व्यक्तिलाई पठाउन सक्नुहुन्छ ।’
स्रोतले अगाडि भन्यो, ‘प्रचण्डजीले मान्नुभएन भने पनि उहाँकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन प्रधानमन्त्रीले भन्नुहुने छ ।’
अर्थमन्त्री शर्माले अर्थमन्त्रालयकै विज्ञ कर्मचारीसँगसमेत परामर्श नगरी जोसमा निर्णय लिने गरेको आरोप छ । ‘उहाँलाई अर्थतन्त्रका बारेमा धेरै जानकारी हुँदैन् तर पनि जोसमा होस् गुमाएरै भएपनि निर्णय गर्नुहुन्छ ।’ अर्थमन्त्रालयका एक कर्मचारीले भने ।
त्यस्तै, मातहतका निकायका पदाधिकारीसँग एक्लै छलफलमा बस्ने गरेको तथा जुनियर कर्मचारीको सरुवामासमेत चासो राख्ने गरेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूसमेत असन्तुष्ट छन् ।
अर्थमन्त्री शर्माले सेयर बजारका विषयमा दिएका अभिव्यक्तिको पनि चर्को आलोचना भएको थियो ।
यसअघि ऊर्जा मन्त्रालयमा सफल छवि बनाएका शर्मा अर्थ मन्त्रालयमा आएपछि छवि सुधार हुन सकेको छैन ।