एमालेको तर्फबाट भरतपुरको मेयरमा सुवेदी !

आइतबार, २७ चैत्र २०७८

चितवन – नेकपा एमालेको तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीले उम्मेदवारी दिने भएका छन् । नेकपा एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्‍वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् ।

सुवेदी प्रदेशसभा सदस्य समेत हुन् । २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ ख बाट विजयी भएका उनी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्रीसमेत बनेका थिए ।

भरतपुर–१२ का स्थायी वासिन्दा सुवेदी चितवनमा पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका थिए ।