माधव नेपालले राखेको यो शर्तले उम्मेदवार नपाउने खतरा बढ्यो !
काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार गजवको शर्त राखेको छ । नेकपा (एस)ले उम्मेदवारी दर्ता गरेकै दिन उम्मेदवारहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न पर्ने शर्त रोखेको छ ।
मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा समाजवादीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने उल्लेख गर्दै घोषणापत्रमा यस्तो शर्त राखेको हो । जनताले सुशासनको पहिलो अनुभूति स्थानीय सरकारकै माध्यमबाट पाउने भएकाले यस्तो शर्त राख्नु परेको घोषणपत्रमा उल्लेख छ ।
एकीकृत समाजवादीको घोषणापत्रमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन् । स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघि कुनै कारोवार वा व्यवसाय गरेका रहेछन् र सो व्यवसायको कार्यकारी जिम्मा लिएका रहेछन् भने आफ्नो कार्यकालभरि आफूलाई सो व्यवसायको कार्यकारी जिम्माबाट अलग भएको घोषणा गर्ने छन् ।’
त्यस्तै भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै आफ्ना जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने पनि समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै केन्द्रदेखि स्थानीय तहसम्म भएका भ्रष्टाचारका घटनाहरू, विभिन्न घोटाला काण्डहरूको तत्काल छानबिन गरी दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिने पनि समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयले नेकपा एसमा खैलाबैला मच्चिएको छ । यसले उम्मेदवार नपाउन खतरा रहेको नेताहरुले बताएका छन् ।
आफ्नो सम्पती विवरण सार्वजनिक गर्ने विषय धेरैका लागि टाउको दुखाईको विषय हो । अहिले आफूसँग जति छ त्यति सम्पत्ति देखाउदा सम्पत्ति सुद्धिकरणले छानविन गर्ने पहिलो डर छ भने दोश्रो निर्वाचित भएर काम गर्दा पछि धेरै सम्पत्तिको देखिए अख्तियार लाग्ने होकी भन्ने डरले धेरैलाई सम्पत्ति विवरण बुझाउने कुराले टाउको दुखाईको विषय बनेको हो ।