प्रधानमन्त्रीलाई काउन्टर दिदै रसिया पुगे माओवादीका मन्त्री !
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको असंलग्न परराष्ट्र नीतिलाई लत्याउँदै रुस–युक्रेन युद्धबारे युक्रेनको पक्ष लिएपछि नेकपा माओवादी केन्द्र एक्सनमा उत्रिएको छ । देउवाको उक्त नीतिलाई लत्याउँदै नेकपा माओवादी केन्द्रले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस पठाएको छ ।
माओवादीको सेटिङमा रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज रसिया पुगेका हुन् । उनीसँग मन्त्रालयका सचिव दामोदर रेग्मी छन् ।
मन्त्रालयको टोली सोमबार बिहान रुस प्रस्थान गरेको हो । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्रीकै स्वीकृति लिएर मन्त्री गहतराज रुस गएका हुन् । देउवासँग भ्रमणको स्वीकृती लिन प्रचण्डले ठूलो पापड पेल्नु परेको थियो ।
रुस प्रस्थान गर्नुभन्दा अघि मन्त्री गहतराजले खेलकुद कूटनीति मार्फत् नेपाल–रुसको ६६ वर्ष पुरानो सम्वन्ध सुधारमा भूमिका खेल्ने बताए ।
मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमासमेत छलफल हुने मन्त्री गहतराजले बताए ।
भ्रमणको क्रममा गहतराजले खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत तय भएको मन्त्री गहतराजले बताए ।