गभर्नरलाई हप्ता बुझाएका छैनौँ – एनआईसी एसिया बैंक
काठमाडौँ – एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हप्ता नबुझाएको स्पष्ट पारेको छ । ‘एनआईसी एसिया बैंकबाट करोडौं हप्ता उठाउँछन् राष्ट्र बैंकका गभर्नर अधिकारी, नपत्याए हेर्नुहोस् प्रमाण’ शीर्षकको समाचारमा खण्डन पठाउँदै बैंकले हप्ता नबुझाएको स्पष्ट पारेको हो ।
‘यस बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतज्यू र विभिन्न विभागहरुमा कार्यरत व्याक्तिहरुलाई समावेश गरि बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक एंव यसका गर्भनर, सुपरभिजन विभागका कार्यकारी निर्देशकज्यूहरु सहितको पदिय मानमर्यादालाई वेवास्ता गरि एन आई सी एशिया बैंकबाट करोडौं हप्ता उठाँउछन् भनी हुँदै नभएको, भ्रामक, झुठ्ठो, कपोकल्पित र आधारहिन समाचार प्रकाशन गर्नु भई अभिव्यक्ति स्वतन्त्रताको नाममा अमर्यादित कार्य गर्नु भएकोमा तहाँले आत्मालोचना सहित यथासिघ्र खण्डन प्रकाशित गरी पत्रकारिता धर्मको निर्वाह गर्नु हुन सादर अनुरोध गर्दछौं ।’ बैंकले इमेलमार्फत पठाएको खण्डनमा भनिएको छ ।
बैंकको शाखा कार्यालयको विवरण माग भएकोमा यस बैंकले नियमनकारी निकायबाट स्वीकृत संचालित शाखा कार्यालयको संख्या ३ सय ५९ रहेको जानकारी गराएको उल्लेख गरेको छ । साथै बैंकको आधिकारिक वेभसाइटमा उल्लेख भएको शाखा र विस्तारित काउन्टर नै बैंकले नियमनकारी निकायबाट स्वीकृत लिएर संचालित शाखा र विस्तारित शाखाहरु रहेको जनाएको छ ।
तर खण्डनमा विस्तारित काउण्टर कति हो खुलाइएको छैन । मोटिभेट न्यूजलाई प्राप्त विवरणमा एनआईसी एसिया बैंकका शाखाहरु ३ सय ५९ र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका (संचालनमा रहेका शाखा संख्या) ४ सय ७० एक आपसमा भिडाउँदा ठूलो अन्तर देखिएको थियो । खण्डनमा एक सय ११ वटा शाखाको अन्तर कसरी भयो कुनै खुलाएको छैन । तसर्थ, हामी हाम्रो समाचार र समाचार श्रोतमा विश्वस्त छौँ ।
मितिः २०७९/०३/०८
श्रीमान् अध्यक्ष/सम्पादक ज्यू,
मोटिभेट गु्रप अफ कम्पनी प्रा.लि.,
नयाँ बानेश्वर, काठमाडौं ।
विषय : झुठ्ठा, भ्रामक र सर्वसाधारणमा भ्रम सिर्जना गर्ने समाचारको खण्डन गरिएको वारे ।
महोदय,
नेपालको अत्यन्त बिकट र दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग सेवा प्रदान गर्दै मुलुकको अर्थतन्त्र उकास्न उल्लेखनीय योगदान गर्दै आएको यस बैंकले आम सर्वसाधारणमा वित्तीय पहुँच सुनिश्चित गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई प्रमुख प्राथमिकता सहित आम सर्वसाधारणमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको यस बैंकको नाम जोडि तहाँ मोटिभेट गु्रप अफ कम्पनी प्रा.लि. द्वारा संचालित न्यूज पोर्टल मोटिभेट न्यूज (https://motivatenews.com) ले “एनआईसी एसिया बैंकबाट करोडौं हप्ता उठाउँछन् राष्ट्र बैंकका गभर्नर अधिकारी, नपत्याए हेर्नुहोस् प्रमाण” शीर्षक राखी यस बैंकलाई तहाँबाट अनुरोध भएबमोजिम उपलब्ध गराइएको विवरणहरुको यथार्थता नबुझि त्यस विवरणहरुलाई बंगाई मिति २०७९।०३।०४ मा झुठ्ठो एवं कपोकल्पित समाचार प्रकाशित गरेकोमा यस बैंकको गम्भीर ध्यानकर्षण सहित आपत्ति रहेको छ ।
तहाँ मोटिभेट न्यूज (https://motivatenews.com) ले उक्त मितिमा प्रकाशित सामग्रीमा यस बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतज्यू र विभिन्न विभागहरुमा कार्यरत व्याक्तिहरुलाई समावेश गरि बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक एंव यसका गर्भनर, सुपरभिजन विभागका कार्यकारी निर्देशकज्यूहरु सहितको पदिय मानमर्यादालाई वेवास्ता गरि एन आई सी एशिया बैंकबाट करोडौं हप्ता उठाँउछन् भनी हुँदै नभएको, भ्रामक, झुठ्ठो, कपोकल्पित र आधारहिन समाचार प्रकाशन गर्नु भई अभिव्यक्ति स्वतन्त्रताको नाममा अमर्यादित कार्य गर्नु भएकोमा तहाँले आत्मालोचना सहित यथासिघ्र खण्डन प्रकाशित गरी पत्रकारिता धर्मको निर्वाह गर्नु हुन सादर अनुरोध गर्दछौं ।
मिति २०७९।०२।१० को पत्रमार्फत तहाले बैंकको शाखा कार्यालयको विवरण माग भएकोमा यस बैंकले नियमनकारी निकायबाट स्वीकृत संचालित शाखा कार्यालयको संख्या ३५९ रहेको जानकारी गराएको हो । बैंकको आधिकारिक वेभसाइट www.nicasiabank.com मा उल्लेख भएको शाखा र विस्तारित काउन्टर नै बैंकले नियमनकारी निकायबाट स्वीकृत लिएर संचालित शाखा र विस्तारित शाखाहरु रहेको व्यहोरा अवगत छ । यसरी शाखा सहित विस्तारित काउन्टरको संख्या दावी गरि यथार्थलाई तोडमोड गरि समाचार सम्प्रेषण भएकोमा बैंकको ध्यानाकर्षण भएको छ ।
नेपाल राष्ट्र बैंक सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय हुनुका साथै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको अभिभावकको रुपमा नेपाल राष्ट्र बैंकले अत्यन्त कुशलतापूर्वक भूमिका निर्वाह गर्दै आएको बिषयमा कसैको दुई मत हुन सक्दैन । निवेदक बैंकले नेपाल राष्ट्र बैंकबाट जारी सबै नीति, निर्देशन, मार्गदर्शन समेतको सदैव पूर्ण पालना गर्दै आईरहेको र आगामी दिनहरुमा समेत निरन्तर रुपमा पालना गर्न पूर्णरुपमा प्रतिबद्ध छ । त्यसै गरी नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा रही मुलुकको केन्द्रीय बैंकको हैसियतमा रहेको नेपाल राष्ट्र बैंक मुलुकको अर्थतन्त्रको दिगो विकास, वित्तीय क्षेत्रको स्थायित्व लगायत समग्र बैकिङ्ग क्षेत्रको समष्टिगत विकासको लागि अतुलनीय एवं महत्वपूर्ण योगदान गर्दै आएको र यस्तो जिम्मेवार संस्थाको प्रमुखको भूमिकामा रहनुभएको देशको गभर्नरज्यू तथा सुपरिभिजन विभागका कार्यकारी निर्देशक जस्तो जिम्मेवारपूर्ण एवं सम्मानित पदमा रहनुभएको व्यक्तिले हप्ता उठाउँछन् भन्ने विषय सोच्न र कल्पना पनि गर्न नसकिने बिषयमा अनर्गल समाचार रचना गर्ने कार्य अत्यन्त निकृष्ट, घृ्रणित र अमर्यादित रहेको प्रष्ट छ । नेपाल राष्ट्र बैंकलाई प्रचलित कानूनले प्रदान गरेको नियमनकारी निकायको भूमिका अत्यन्त पारदर्शी र समग्र देशको अर्थतन्त्रको हित अनुकुल रहने गरेको र स्वंय गभर्नरज्यू र सुपरभिजन विभागका कार्यकारी निर्देशकज्यूको दक्षता, कार्यकुशलता, अनुभव, योग्यता क्षमता र वहाँको निष्पक्ष भूमिका मुलुकको सम्पूर्ण क्षेत्रको लागि उदाहरणीय रहँदै आएको छ । यस्तो कुशल पदाधिकारीज्यूहरुको सम्बन्धमा यस बैंक र पदाधिकारीहरुको नाम जोडिएर आएको समाचार आफैमा अविश्वसनिय, असान्दर्भिक झुठ्ठा र कपोकल्पित छ ।
अतः तहाँबाट प्रकाशित उक्त झुठ्ठो एवं कपोकल्पित समाचारले यस बैंक तथा यस बैंकको संचालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृतज्यू र बैंकमा आबद्ध सम्पूर्ण कर्मचारीहरुको संस्थागत तथा मानवीय संवेदनामा गहिरो चोट पु¥याउने कार्य गरेकोले राज्यको चौथो अंगको रुपमा रहेको तहाँ मिडियालाई जिम्मेवार भई सत्य, तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न र पत्रकारिताको आचार संहिता तथा प्रचलित कानून प्रतिकूल हुने गरी झुठ्ठा कपोकल्पित समाचार प्रकाशित नगर्न सादर अनुरोध गर्दै प्रकाशित समाचारमा आधारहिन समाचार प्रकाशन गर्नु भई अभिव्यक्ति स्वतन्त्रताको नाममा अमर्यादित कार्य गर्नु भएकोमा तहाँले आत्मालोचना सहित यथासिघ्र खण्डन प्रकाशित गर्न अनुरोध गर्दछौं अन्यथा यस बैंक तहाँ उपर प्रचलित कानून बमोजिम आवश्यक कानुनी कारवाहीको लागि सम्बन्धित निकायको ढोका ढकढक्याउन बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं ।
भवदीय,
बोधार्थ
१. प्रेस काउन्सिल नेपाल