झापामा बाढीले मच्चायो वितण्डा, हेर्दाहेर्दै सपिङ कम्प्लेक्स नै डुवायो !

बुधबार, १५ असार २०७९

काठमाडौँ -झापाको दमकमा बाढीले बितण्डा मच्चाएको छ।  पश्चिम झापामा स्थानीय तहमा अविरल वर्षा र त्यसपछि आएको बाढीले ठूलो नोक्सानी गरेको हो । बाढीका कारण दमकमा नगरपालिकाले निर्माण गरेको सपिङ कम्प्लेक्स बुधबार पुरै डुबानमा परेको छ ।

दुई वर्षअघि नगरपालिकाले पुरानो सब्जीमन्डीमा चार करोड रुपैयाँ खर्च गरेर बनाइएको कम्प्लेक्स पानीको भल पसेर जलमग्न भएको छ । दमक–६ स्थित अन्डरग्राउन्डसहितको उक्त चारतले कम्प्लेक्सको माथिल्लो तलामा पानी जमेको छ । भुइँतला जलमग्न भएको जनाइएको छ ।

माथिल्लो तलामा नगरपालिकाको दमक–६ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र पनि सञ्चालित छ । भित्री कोठाहरूमा समेत पानी जमेको छ ।

लगातारको वर्षाका कारण पठनपाठनमा कठिनाइ भएपछि झापाका धेरै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गरिएका छन् । शिवसताक्षी नगरपालिकाले पालिकाअन्तर्गतका विद्यालयहरू बन्द गर्न सूचित गरिएको छ ।

दमकमा अवस्था हेरेर आफैँ निर्णय लिन विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिइएको नगरका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले बताए ।

शिवसताक्षी नगरपालिकाका पाँचगाछी, शिवगन्ज र जनता क्षेत्र डुबानमा परेको छ । बाढीपीडितलाई विद्यालयमा सारिएको छ ।

गौरीगन्ज गाउँपालिका–१ स्थित रामजानकी आधारभूत विद्यालय र गौरीगन्ज–२ स्थित शिशुकल्याण आधारभूत विद्यालयमा बाढीपीडितलाई बस्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले विस्थापित बस्ने व्यवस्था गरिएपछि केही विद्यालयको पठनपाठन प्रभावित भएको बताइन् ।