चुनाव घोषणा भएपछि बढ्यो प्रचण्डको ढुकढुकी, चितवनबाट आएको रिर्पोटले छटपटी

शुक्रबार, २० साउन २०७९

काठमाडौँ – सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । मंसिरमै चुनाव हुने भएपछि नेताहरु चुनावि समिकरणमा जुटेका छन् । शिर्ष नेताहरु आफ्नो जित सुनिश्चितका लागि दौडधुप गरिरहेका छन् ।

शिर्ष नेताहरु मध्ये सबैभन्दा धेरै दौडधुप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गरिरहेका छन् । दुई पटकसम्म प्रधानमन्त्री भएका प्रचण्डलाई भने आगामी निर्वाचनमा गठबन्धन नगरे तेस्रो पटक प्रधानमन्त्री बन्ने उनको चाहानामा पूर्णविराम लाग्न्ेछ । उनलाई कांग्रेसकै भर पर्नुपर्ने बाध्यता आएको ढुकढुकी बढेको छ ।

उनको निर्वाचन क्षेत्र चितवन–३ हो । जहाँ उनी २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा जितेका थिए । उतीबेला उनले ४८ हजार २७६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको तालमेलमा लडेका राप्रपाका बिक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र माडी नगरपालिकाका सबै नौ वडा समावेश छन् ।

गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनको सहारामा प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगर मेयरमा पुनः निर्वाचित भएकी छन् । यद्यपी उनको जीत गठबन्धनकै भरमा सम्भव देखिएको वडागत नतिजाले पनि देखाउछ ।

प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । यस्तै एमाले र माओवादी केन्द्रले ३–३ वडा जितेका छन् भने नेकपा एसले २ र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यस्तै माडी नगरपालिकामा राप्रपा र एमालेको गठबन्धनबाट एमालेले मेयर जितेको छ । उपमेयरमा भने कांग्रेस जितेको छ । वडागत नतिजामा माओवादी केन्द्रले ४, राप्रपा र नेकपा एसले २–२ र एमालेले १ वडा जितेको छ ।

योसँगै प्रचण्डको यो निर्वाचन क्षेत्रका २८ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेस, ७ वडा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एस ४÷४ वडा राप्रपा २ र स्वतन्त्र १ वडा जितेका छन् । वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले पहिलो देखिन्छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल २९ हजार ७७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारहरूले २९ हजार ३४३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा १० हजार ९४० मत मात्रै प्राप्त गरेका छन्, भने राप्रपाका उम्मेदवारहरूले ६ हजार १९८ मत पाएका छन् । नेकपा एसका वडाध्यक्ष उम्मेदवारहरूले यो क्षेत्रमा ५ हजार ३७ मत पाएका छन् भने जसपाले ७२ मत बटुलेको छ ।

यसरी जुनसुकै कोणबाट हेर्दा पनि प्रचण्डलाई निर्वाचन जित्न गठबन्धनकै भर पर्नुपर्ने देखिन्छ । नभए एक्लाएक्लै लड्दा उनलाई हारबाट जोगाउन चितवनका जनताले ठूलै उलटफेर गर्नुपर्ने अवस्था छ ।