१६५ सिटलाइ ५ भाग लगाउन आजपनि कार्यदलको बैठक बस्दै, कसको भागमा कति पर्ला ?
काठमाडौँ – आगामी मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनको १६५ सिटलाइ ५ भाग लगाउन आजपनि कार्यदलको बैठक बस्दै छ। सिट बाँडफाँडका लागि सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको दोस्रो बैठक अपराह्न २ बजे बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कुनमा कुन पार्टीलाई र कति सिट दिने भन्नेबारे छलफल हुने बताइएको छ ।
आजको बैठकमा सबै दलले आ आफ्नो दाबी पेश गर्ने बुझिएको छ । साउन मसान्तसम्म सिट बाँडफाँडबारे प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको कार्यदलमा काँग्रेसबाट तीन र अन्य दलबाट दुई दुई जना सदस्य छन् ।
नेपाली काँग्रेस कम्तीमा एक सय सिटमा आफ्ना उम्मेदवार हुनुपर्ने अडानमा छ । बाँकी ६५ सिटमा बाँकी चार दलले चित्त बुझाउनुपर्ने उसको भनाइ छ । तर, माओवादी केन्द्र स्वयम्ले ६५ देखि ७० सिटको अडान राख्ने सम्भावना छ । अन्य दलको भागमा १० सिट उपलब्ध गराउनुपर्नेमा काँग्रेस र माओवादी सहमत देखिन्छन् ।