नागरिकता विधेयकबारे छलफल गर्न प्रधानमन्त्री र गगन थापा शितल निवास जाँदै
काठमाडौं—नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी महामन्त्री गगन थापालाई लिएर आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जाँदै छन्।
बालुवाटार स्रोतका अनुसार अहिले दिउँसो दुई बजे प्रधानमन्त्री देउवा र महामन्त्री थापा शितल निवास जाने कार्यक्रम छ।
पार्टीका तर्फबाट राष्ट्रपतिलाई भेट्नुअघि सभापति देउवाले काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीसँग बालुवाटारमा छलफल गरेका छन्।
पछिल्लो समय राष्ट्रपति भण्डारीले नागरिकतासम्बन्धी विधेयकबारे विभिन्न पक्षसँग छलफल गरिरहेकी छन्।
त्यही क्रममा कांग्रेसलाई पनि छलफलका लागि बोलाएपछि सभापति देउवा र महामन्त्री थापा शितल निवास जान लागेका हुन्।
दुबै संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरिसकेको छ भने राष्ट्रिय सभाले आइतबार विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ।
राष्ट्रिय सभामा पनि सत्तारूढ गठबन्धनकै बहुमत भएकाले विधेयक जस्ताको त्यस्तै पारित हुने सम्भावना छ।