विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको शिक्षाको खाँचो छः प्रचण्ड
काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्ने बताएका छन् ।
आज सोमवार महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमाराको भवन शिलान्यास सामारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षालाई सीपसँग जोडेर नेपाली शिक्षालाई विश्वस्तरमा पुर्याउनुपर्ने आवश्यक रहेको बताए। उनले भने, ‘हाम्रो शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्छ । नेपालमा पनि सीप र आर्थिक विकासको पाटोसहितको शिक्षा हासिल गर्ने शिक्षालयको स्थापना हुनु आवश्यक छ । तसर्थ बहुप्राविधिक शिक्षालयको अहम् भूमिका रहेको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले निर्मल लामा बहुप्राविधिक शिक्षालय मधेस प्रदेशमा मात्र सीमित नभइ यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमाया यादव, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहको उपस्थिति रहेको थियो ।