विद्यार्थीको पैसा फिर्ता गर्न अटेरी गर्दै अस्ट्रेलियाका कलेजहरु

शुक्रबार, ३१ भाद्र २०७९

काठमाडौँ – अस्ट्रेलियाका कलेजहरुले नेपाली विद्यार्थीहरुको पैसा फिर्ता गर्न अटेरी गरेको पाइएको छ । अध्ययनका लागि भिसा एप्लाई गरेर भिसा नलागेका विद्यार्थीहरुको पैसा फिर्ता गर्न अलेजहरुले अटेरी गरेका हुन् ।

धेरै जसो प्राविधिक (भेट) कलेजहरुले अप्रिल महिनादेखिको पैसा फिर्ता नगरेको शैक्षिक परामर्श व्यवसायीहरुले बताएका छन् । अस्ट्रेलियाका कलेजहरुमा विद्यार्थीले कलेजको ‘ट्युसन फि’ जम्मा गरेपछि मात्र भिसाका लागि एप्लाई गर्न पाइन्छ । यसरी कलेजको खातामा जम्मा गरेको ‘ट्युसन फि’ भिसा नलागेका विद्यार्थीलाई कलेजले फिर्ता नगरेका हुन् ।

‘अप्रिल महिनामा भिसा एप्लाई गरेका विद्यार्थीको भेट कलेजहरुले आजसम्म रिफण्ड गरेका छैनन् । यो हेपाहा प्रबृति हो ।’, स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) का पूर्वअध्यक्ष युवराज कटुवालले भने, ‘नेपाली विद्यार्थी र परामर्श व्यवसायीहरुलाई यस्ता भेट कलेजले अटेरी गरेका हुन् । अस्ट्रेलियन सरकारको ट्युसन प्रोटेक्सन सिस्टम (टिपिएस) अनुसार २८ दिनभित्र रिफण्ट गर्नपर्छ । केही कलेजले धेरै अटेरी गरेका छन् ।’

कलेजले विभिन्न बहाना बनाएर रिफण्ड नगरेको कटुवालको भनाई छ । ‘जिटिई एप्रुभ कलेजले गरेको हो । पैसा डिपोजिट गर्न पनि कलेजले नै भनेको हो । अहिले यो भएन, त्यो भएन भनेर कलेजले बहाना बनाउन मिल्छ ?’, माओवादी केन्द्रका नेतासमेत रहेका कटुवालले भने, ‘अहिले बहाना बनाउने कलेजले त्यति बेला जिटिई एप्रुभ किन गरेको, त्यति बेलामा सबै डकुमेन्ट हेरेर निर्णय गरेको भए हुँदैन थियो ?’

कटुवालले शुक्रबार दिउसो एउटा स्टाटस लेख्दै रिफण्ड नदिने कलेजको भण्डाफोर गर्दै बहिस्कार गर्ने बताएपछि केही कलेजले रिफण्ड गरेको बताए । भेट कलेजहरुले विद्यार्थीले नक्कली डकुमेन्टबाट एप्लाई गरेको, विद्यार्थी र विद्यार्थीका अभिभावकको आर्थिक अवस्था सन्तोषजनक नरहेको लगायतका बहाना बनाउँदै रिफण्ड नगरेका हुन् । रमाइलो कुरा त के छ भने कलेजले जिटिई अप्रुभ नगर्दासम्म नेपालबाट पैसा पठाउन मिल्दैन । विद्यार्थीको शैक्षिक योग्यताको प्रमाणपत्र, अंग्रेजी टेस्टको प्रमाणपत्र, लोन अप्रुभ सर्टिफिकेट, सम्पत्ति विवरण, बैंक स्टेटमेन्ट सबै हेरेर प्रमाणित गरेपछि मात्रै कलेजले जिटिई एप्रुभ गर्ने गर्दछ ।

त्यस्तै, जुन महिनामा भिसा एप्लाई गरेका विद्यार्थीको अरु कलेजले पनि रिफण्ट गरेका छैनन् । भिसा रिजेक्सन भएर रिफण्ड एप्लाई भएको २८ दिनभित्र पैसा फिर्ता गरिसक्नु पर्ने कानुनी प्रावधान भएपनि कलेजहरुले दुई महिना वितिसक्दा पनि पैसा फिर्ता गरेका छैनन् । उच्च शिक्षा अध्ययन गराउने कलेजहरुले अस्ट्रेलियन हाइकमिसनको पछिल्लो प्रावधानलाई देखाएर पैसा फिर्ता गर्न अटेरी गरेको एक अर्का व्यवसायीले बताए ।

विद्यार्थीलाई दुःख दिने कलेजहरुको भण्डाफोर गर्न पर्ने व्यवसायीहरुको भनाई छ । ‘विद्यार्थीको पैसा महिनौ सम्म रोकेर बस्ने कलेजहरुको भण्डाफोर गर्नपर्छ । यसरी गैरकानुनी रुपमा विद्यार्थीको पैसा रोक्न मिल्दैन ।’ राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का अध्यक्ष सन्तोष प्याकुरेलले भने, ‘रिफण्ड माग गरेको २८ दिनभित्र विद्यार्थीको पैसा फिर्ता गरिसक्नु पर्छ । त्यसो नगरेको पाइए कलेजहरुको भण्डाफोर गर्न पर्छ । आगामी दिनमा त्यस्ता कलेजलाई बहिस्कार गर्न पर्छ ।’

प्याकुरेलले आफ्नो कन्सल्टेन्सीबाट एप्लाई गरेको विद्यार्थीको भने समयमै रिफण्ड भएको बताए । यसरी रिफण्ड नगर्नेमा नेपाली र भारतीय मुलका नागरिकले संचालन गरेका कलेजहरु रहेका छन् ।