अहिलेको निर्वाचन कुनै व्यक्ति वा दलको नभइ लोकतन्त्रको जित होः विष्णुप्रसाद पौडेल

सोमबार, १२ मंसिर २०७९

काठमाडौं— रूपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलको नभइ लोकतन्त्रको जित भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘यो कुनै व्यक्ति तथा पार्टीको नभएर लोकतन्त्रको जित हो, लोकतान्त्रिक प्रणालीको जित हो ।’

पौडेलले आफू पनि सो क्षेत्रबाट जनताको अमूल्य मतका आधारमा निर्वाचित भएको र यो निर्वाचनलाई आफूले काँधमा आएको अभिभाराका रूपमा लिएको बताए ।

उनले देशलाई निकास दिन राजनीतिक स्थायित्वको जरुरी भए पनि कुनै दललाई बहुमत नआएको बताउँदै अहिलेको जनादेशलाई नै स्वीकार गरेर त्यसअनुरूप नै अगाडि बढ्ने बताए । देशमा निकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको पनि उनको भनाइ छ ।

देशमा स्वस्थ लोकतान्त्रिक मान्यतालाई अघि बढाउन निर्वाचनको प्रचारका दौरान जनताका बीचमा गएको तर आफूले कसैको विरोध नगरेको भन्दै उपाध्यक्ष पौडेलले सबै मतदाताको भावना बुझेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।