भूमि आयोगले लगायो सुकुम्बासी बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई रोक

शुक्रबार, १६ मंसिर २०७९

काठमाडौँ— राष्ट्रिय भूमि आयोगले सुकुम्बासी बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई रोक लगाउने तयारी गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै काठमाडौँलगायत विभिन्न ठाउँमा रहेका नसुकुम्बासीलाई अहिले नै नहटाउने बताएको हो।

काठमाडौँ महानगरसहित देशभरका सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्नरनगराउन यो सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ।

आयोगले लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपूर्जा वितरणसम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्नेगरी आवश्यक तयारी गर्ने पनि सूचनामा उल्लेख गरेको छ।

आइतबार काठमाडौँ महानगरले थापाथलीको सुकुम्बासी बस्तीमा डोजरसहित नगर प्रहरी लैजाँदा तनावग्रस्त बनेको थियो। जसमा नगर प्रहरी प्रमुखसहित ढुंगा प्रहारबाट १८ जना घाइते भएका थिए।