नवनिर्वाचित सांसदलाई पार्टी नीति विपरित जथाभाबी नबोल्न रबि लामिछानेको निर्देशन

सोमबार, ४ पौस २०७९

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा राखिएको आवासीय बैठकमा आफ्ना नवनिर्वाचित सांसदहरुलाई जथाभावी नबोल्न निर्देशन दिएका छन् ।

संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिएका हुन् ।

‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन्’ लामिछानेको ब्रिफिङबारे बताउँदै एक सांसदले भने,‘तपाईहरु मिडिया लगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस् पदको गरिमा राखेर बोल्नुस् ।’ पार्टी र सरकारमा जाने विषयमा पार्टीको लाइन भन्दा बाहिर नबोल्न लामिछानेले भनेका छन् ।

हाम्रो पार्टीका विषयमा धेरैलाई जिज्ञासा छ । धेरैलाई कौतुहलता छ । हामीले धेरै विषयमा व्यवस्थित गर्नुपर्ने छ’ लामिछानेले भने, ‘पार्टीले गरेको निर्णयभन्दा बाहिर मनमा लागेका नबोल्नुहोला । जति पार्टीले निर्णय भएको त्यति मात्रै बोल्नुपर्छ ।’ पार्टीमा विवाद आउने कुनैपनि विषय नउठाउन पनि लामिछानेले निर्देशन दिएका छन् । लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसद्को भूमिका, कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा ब्रिफिङ गराइने भएको छ ।

सोमबार विहानदेखि बुढानिलकण्ठको होटल पबेरामा राखिएको बैठक भोलि मात्रै सकिने भएको छ ।