वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भए पछि खुल्यो ताला

बिहिबार, २१ पौस २०७९

काठमाडौं— पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा लागेको ताला खुल्ने भएको छ । पाँच दिन भित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भए पछि उद्योगमा लागेको ताला खुलेको हो ।

पुसको दोस्रो हप्ता देखि सञ्चालनमा आएको लुम्बिनी चिनी उद्योगले स्थानीयसँग गरेको सहमति विपरीत उद्योगमा इन्धनको रूपमा धानको भुस प्रयोग गरी वातावरणमा खरानी उठाएको विषयलाई लिएर उद्योगको गेटमा तालाबन्दी गरेका थिए । सुनवलको बजार क्षेत्रमा व्यापक रूपमा धुलो उडाएको, उद्योग सञ्चालन पूर्व उद्योग क्षेत्रका नालाहरू सरसफाइ गर्नु पर्ने लगायतका विषयहरूको कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले मङ्गलवार उद्योगको मूल गेटमा तालाबन्दी गरेका थिए ।

उद्योग सञ्चालक स्थानीयवासी, सुनवल नगरपालिकाका जन निर्वाचित प्रतिनिधिहरू लगायतको संयुक्त छलफलबाट उद्योगलाई उपकरणहरू मर्मत गरी प्रदूषण नियन्त्रणका लागि ५ दिनको समय दिने सहमति भए पछि उद्योग पुनः सञ्चालनमा आएको सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले बताउनुभयो ।

प्रदूषण नियन्त्रण गर्न भन्दै स्थानीयवासीले गत मङ्गलवार ताला लगाएको अवस्थामा बुधवार राती उद्योग र केही स्थानीय मानिसहरूको समूहले रातीको समयमा गेटमा लगाइएको ताला खोले पछि उद्योग सञ्चालकसँग केही बेर स्थानीयवासी आक्रोशित बनेका थिए ।

इन्धनको रूपमा धानको भुस बाले पछि उद्योगको चिम्नीबाट जलेको भुसका टुक्रा सहित कालो खरानी सुनवल क्षेत्रका बजारहरूमा व्यापक रूपमा उडे पछि स्थानीयहरू विरोधमा उत्रिएका हुन ।