सरकारले आजै पूर्णता पाउँछः प्रधानमन्त्री
काठमाडौँ— बालकोटमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजै पूर्णता पाउने बताएका हुन्।
सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको छ। कांग्रेससँग पनि छलफल हुन्छ । भोलि थाहा हुन्छ।’
एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन्। ओलीसँग ‘लन्च मिटिङ’मा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा ।समेत छलफल भएको जनाइएको छ।
यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन्। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।
राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको छ।