संक्रमण पन्छाउन खर्च कटौति र थाती राखिएको नीतिको सुधार आवश्यकः डा. वाग्ले

बुधबार, ४ माघ २०७९

काठमाडौं— अर्थविद् डा. स्वर्णिम वाग्लेले संक्रमण पन्छाउन खर्च कटौति र थाती राखिएको नीतिको सुधार आवश्यक रहेको बताउदै तत्काल आर्थिक सुधारको काममा लाग्नुपर्ने पनि बताएका हुन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको, अर्थतन्त्रः अबको बाटो, विषयक छलफलमा वाग्लेले सन् २०२३ देखि नीतिगत समन्वय गर्न नसके अर्थतन्तन्त्र झनै तल खस्किने अवस्था देखिएको बताए ।

‘नेपाल विश्व अर्थतन्त्रसँग प्रत्यक्ष वैदेशिक लगानी, निर्यात, पर्यटनमा कम निर्भर छ, मुख्य स्रोत रेमिट्यान्स हो । जुन सन्तोषजनक देखिएको छ,’ वाग्लेले भने, ‘हाम्रो क्षेत्रीय अर्थतन्त्रका कारण त्यति जोखिम भने नहोला ।’

उनले अर्थतन्त्रमा देखिएको संक्रमण पन्छाउन कर्मचारी संख्यामा पुनर्विचार गर्नुपर्ने बताए । श्रीलंकाले सेनाको संख्या कटौती गरेको भन्दै स्टन्टका लागि नभई, क्रमशः चालु र पुँजीगत खर्चको ग्याप कम गर्न लाग्नुपर्ने उनले बताए ।

नेपालभित्र उठाएको राजस्वले चालु खर्च धान्न सक्ने अवस्था देखिए पनि अनुदान भने सोचेजस्तो उठाउन नसकेको बताए । वाग्लेले सार्वजनिक खर्च पुनरावलोकन आयोगका सुझाव सम्बोधन गर्नुपर्ने, सार्वजनिक संस्थान पुनर्संरचना गर्न अर्थमन्त्रीलाई सुझाव दिए । राजस्व प्रशासनमा उल्लेख्य सुधार आवश्यक रहेको र सुधारका लागि अहिले चलाएको तालिम प्रयाप्त नरहेको उनको भनाइ छ ।