आफ्नो प्रतिवद्धताबाट गृहमन्त्रालय टसमस हुदैनः गृहमन्त्री
काठमाडौं— गृहमन्त्री रवि लामिछानेले बिहीबार संसद बैठकमा बोल्दै अपराध नियन्त्रण गर्न गृहमन्त्रालयले जुन प्रतिवद्धता गरेको छ त्यसबाट टसमस नहुने कुरा बताएका छन्। गृहमन्त्री लामिछानेले विधि र मान्यताबाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने बताए।
संसदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद पनि भएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेका थिए।
उनको प्रश्नलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले गृहमन्त्रालय र आफू विधिको शासन कायम गर्न नचुक्ने बताएका हुन्।
कांग्रेसका सांसदले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएको जानकारी गराएपछि गृहमन्त्री लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नगर्ने ग्यारेन्टी गर्दै कानूनी प्रक्रियामा कसैको दवाव र प्रभाव स्वीकार नगर्ने बताए।
उनले विधि स्थापीत गरेर कर्मचारीको सरुवा बढुवामा पनि विधिसम्मत ढंगले काम गर्ने र कसैको भनसुन नलाग्ने, अपराध नियन्त्रणमा यस्तै किसिमको व्यवस्था गर्ने प्रतिवद्धता गृहमन्त्रालय टसमस नहल्लिएको स्पष्ट पारे। गृहमन्त्री लामिछानेले आगामी दिनमा पनि यसलाई प्रभावित गर्नका लागि कसैबाट कुनै पनि दवाव र प्रभाव आउनेछैन भन्ने विश्वास व्यक्त गरे।
त्यसअघि बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेको संसदमा रहेको सुनिएको भन्दै उक्त सांसदको मतदान प्रक्रिया रोक्न आग्रह गरेका थिए। फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरी यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पनि संसदमा सहभागी भएका थिए।