जनमत पार्टीले एमालेको उद्योग मन्त्रालय खोस्यो
काठमाडौं- नेकपा एमालेको उद्योग मन्त्रालय जनमत पार्टीले खोसेको छ। एमालेबाट उद्योगमन्त्रीमा रहेका दामोदर भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर खानलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली तयार भएपछि एमालेको उद्योग मन्त्रालय खोसिने भएको हो।
माघ ३ गते प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारगर्दा जनमतले माग गर्दै आएको मन्त्रालय नदिएर जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिएको थियो।
जनमत पार्टीले खानेपानी मंग्त्रालय अस्विकार गर्दै उद्योग वा कृषि मन्त्रालयमध्ये एक मन्त्रालय पाउनुपर्ने माग राखेको थियो। जनमत अध्यक्ष डा सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट तीव्र बनाएका थिए।
भेटघाटमा आफूले रोजेको मन्त्रालय नपाए सत्ता गठबन्धनबाट बाहिरिने भनेर डा राउतले आजसम्मको समयसीमा दिएकोमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिन तयार भएका हुन्।
मन्त्रिमण्डल विस्तारहुँदा जनमतले पाएको खानेपानी मन्त्रालयमा मन्त्री अब्दुल खानले अहिलेसम्मपनि पदभार ग्रहण गरेका थिएनन्।
हाल एमालेबाट उद्योगमन्त्रीमा रहेका दामोदर भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर खानलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको एक मन्त्रीले बताए।
जसपालाई उद्योग दिँदा एक मन्त्रालय मात्रै दिनुपर्ने र जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीपनि सरकारमा आउने सम्भावना बढी भएको हुँदा उनीहरुलाई मिलाउन प्रधानमन्त्री प्रचण्डले दुई वटा मन्त्रालय आफैंसँग राखेका थिए।