महामन्त्री थापाले पनि जनाए सरकारले आज दिएको बिदाप्रति असन्तुष्टि

सोमबार, १ फाल्गुन २०७९

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आज (सोमबार) दिएको बिदाप्रति असन्तुष्टि जनाउँदै उनले सरकारले ऐन बनाउन अग्रसरता नलिएर सांसदहरु आफैंले अग्रसरता लिनुपर्ने बताएका छन्। उनले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउन अपिल पनि गरेका छन्।

फेसबुकमा स्टाटस लेख्दै उनले पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको र कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि बिदा दिने गरिएको उनको भनाइ छ।

यस्ता बिदाहरु नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज भएको उनको ठहर छ। सार्वजनिक बिदाका नाममा अराजकता अति भएको उनको भनाइ छ।

‘कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ? कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो। यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ,’ थापाले लेखेका छन्।