राष्ट्रपतिको चुनावमा सहमति जनाए लगत्तै राप्रपाले एजेण्डा छाड्नुपर्छः रेखा थापा
काठमाडौँ— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य रेखा थापाले राष्ट्रपतिको चुनावमा सहमति जनाए लगत्तै आफूहरुले एजेण्डा छाड्नुपर्ने भनाइ व्यक्त गरेकी छन । हिन्दू राष्ट्र कायम गर्ने, राजसंस्था पुर्नस्थापना गर्ने र प्रदेश खारेज गर्ने जस्ता एजेण्डासहित राप्रपाको स्थापना भएको उल्लेख गर्दै उनले राष्ट्रपतिको चुनावमा सहभागी जनाउँदा राप्रपाले आफ्ना उक्त एजेण्डाहरुमाथि सम्झौता गरेर अघि बढ्न नहुने भन्दै थापाले असन्तुष्टि जनाएकी हुन् ।
राष्ट्रपतिको चुनावमा आफ्नो पार्टी सहभागी हुन नहुने राय व्यक्त गरेकी छन् । राष्ट्रपतिबारे निर्णय लिन बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकका क्रममा उनले यस्तो बताएकी हुन् । ‘हामी एउटा सिद्धान्त बोकेर जमिनमा गएको मान्छे । जनताको घरआँगनमा गएको मान्छे । अहिले ठ्याक्कै व्यवहार अलग हुँदाखेरि भोलि कुन मुख लिएर जनतामाँझ जाने? जनतालाई के जवाफ दिने?’, थापाले प्रश्न गरेकी छन् ।
उनले दुई चारजना व्यक्तिको चाहनाअनुरुप देश र पार्टी नचल्ने तात्पर्यसमेत राखेकी छन् । पार्टीको सिद्धान्तलाई मध्यनजर गरेर अघि बढ्नुपर्ने उनको आशय छ । उनले भनिन्, ‘पार्टीको सिद्धान्त विपरीत व्यक्तिगत इच्छा र व्यक्तिगत चाहनाअनुसार अघि बढन हुन्छ जस्तो मलाई लाग्दैन ।’
राष्ट्रपतिको विषयमा पार्टीभित्रै दुई मत भइराख्दा पार्टी नै दुई टुक्रा हुने त होइन भन्ने संचारकर्मीको प्रश्नमा उनले त्यस्तो नहुने बताइन् । ‘हामी पार्टीलाई दुई टुक्रा हुन दिदैनौँ । जीर्ण अवस्थामा भएको पार्टीलाई हामीले महाधिवेशनपछि एउटा राम्रो अनि सशक्त १४ सिटे पार्टी बनाएका छौं । त्यतिकै्र फुट्न दिदैनौं ।’, उनले थपिन् । उनले जनताकोे जनादेशलाई निर्णायक बनाएर अघि बढ्ने अपेक्षासहित राप्रपालाई एकल हिसावले लिड गरेर अघि बढ्ने पार्टी बनाउने चाहना भएको भावसमेत प्रकट गरिन् ।