किरियापुत्री बसिरहेका सांसदले पनि गरे मतदान

शुक्रबार, ३ चैत्र २०७९

काठमाडौं— नेपाली कांग्रेसका प्रदेश सांसद प्रकाश बरालले पनि उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् । गण्डकी प्रदेशसभा सदस्य बरालले बाबु बितेर किरियापुत्री बसिरहेका छन्।

बराल कास्की ३ को ‘ख’बाट गएको मंसिर ४ को प्रदेशसभा निर्वाचन जितेका हुन् । उनले बाबु बितेको आठ दिन भएको र आफू मतदान गर्न आजै काठमाडौं आएको बताए । “बुवा बितेको आठ दिन भयो । भोट हाल्नका लागि बिहान पोखराबाट आएको हुँ । नआइ नहुनेभन्दा पनि आफ्नो जिम्मेवारी हो । तयो पूरा गर्न आएको हुँ,”  उनले भने ।

पार्टीको निर्देशन र जनमतको जिम्मेवारी पूरा गर्न आफू मतदान गर्न काठमाडौं आइपुगेको उनले जानकारी दिए । “धेरै सोचे मेरो जिम्मेवारी पनि हो भन्ने लाग्यो पार्टी राजीतिमा लागेपछि पार्टीको निर्णय मान्नुपर्छ भन्ने लागेर आएको हो,” उनले भने, “जनताले प्रतिनिधि बनाएर यसैका लागि पठाएका हुन् नि । म नआएको भए उनीहरुको प्रतिनिधित्व हुने थिएन ।”

चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति चुन्न अहिले मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन अधिकृत कार्यालयले आजै नतिजा सार्वजनिक गर्नेछ ।