सरकारलाई पूर्णता दिने विषयमा दलहरू आज देखी छलफलमा जुट्ने

मंगलबार, ७ चैत्र २०७९

काठमाडौं— सरकारलाई पूर्णता दिन आजदेखि दलहरू छलफलमा जुट्न लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलले सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु गर्ने भएका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए । उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।

“जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २–४ दिनभित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ,” उनले भनेका थिए । उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने बताएका थिए । नेपाली कांग्रेसले सरकारमा जाने बताइसकेको छ ।