लोकतन्त्रमा यो वा त्यो बाहनामा व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य हुदैनः शेखर कोइराला
काठमाडौं— नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले लोकतन्त्रमा यो वा त्यो बाहनामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । उनले विधेयकबारे समाचारहरू आएपछि बुधबार नेता कोइरालाले सामाजिक सन्जालमार्फत सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका हुनन् ।
उनले विगतमा विरोधका कारण रोकिएको विधेयक अहिलेको सरकारले फेरि अगाडि बढाउन लागेको भन्दै यसले सरकारको नियतमाथि प्रश्न उठेको पनि बताए । ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ उनले भने, ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगत्को समेत ध्यान जाओस् ।’
विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ०७६ को साउनमा पनि नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयकको मस्यौदा तयार गरिएको थियो । तत्कालीन प्रतिपक्षी कांग्रेसलगायतका राजनीतिक दल र नागरिक समाजबाट चर्को विरोध भएपछि विधेयक रोकिएको थियो ।अहिले कांग्रेससहितको गठबन्धन सरकारले अझै स्पष्ट व्यवस्था गर्दै विधेयक ल्याउने तयारी रहेको छ । तर सत्ता गठबन्धनकै नेताहरू र सांसदहरुले यसको विरोध थालेका छन् ।