बागमती प्रदेश मन्त्रिपरिषद् पुनर्गठन अझै अन्योलमा
काठमाडौं— आइतवार बसेको कार्यदल बैठक निष्कर्षविहीन भए पछि बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा परेको छ।
रिक्त मन्त्रालयमा पदपूर्तिका लागि दाबेदारको संख्या टुंग्याउन बसेको बैठकमा कांग्रेसले ६ वटा मन्त्रालयको दाबी नछोडे पछि मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा परेको हो। सत्तारुढ दलहरुलाई दिने मन्त्रालय टुंगो लगाउने जिम्मा पाएको कार्यदल अलमलमा परेपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समस्या बुझिएको छ। कार्यदल बैठकले विभिन्न विकल्प निकालेको माओवादी केन्द्र सचेतक तथा कार्यदलका सदस्य रत्नप्रसाद ढकालले बताए।
उनका अनुसार कांग्रेसले ६ वटा मन्त्रालयको दाबी नछोडेकाले निर्णयमा पुग्न नसकिएको हो।’आजको बैठकबाट निर्णय गर्न नसकेपछि विकल्पका निर्णयहरु निकालेका छौँ,’ उनले भने, ‘यसबारे अब संसदीय दलका नेताहरु टुंगो लगाउँछन्।’ यता, कार्यदलका संयोजक तथा सांसद रामकृष्ण चित्रकार सोमबार बेलुकासम्म निर्णय हुनसक्ने बताउँछन्। केन्द्रमा त कांग्रेसले निर्णय गरेर मन्त्री पठाइसकेको छैन, प्रदेशमा किन हतार गर्ने’ उनको भनाई थियो। ,‘अझै केही दिन लाग्छ, आजैभोलि मन्त्रीलाई शपथ खुवाउने सम्भावना छैन।’