प्रचण्डको भारत भ्रमणमा जाने मिति तोकियो
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि मिति तय भएको छ।
परराष्ट्र मन्त्रालयले यही वैशाख २४, २५ र २६ गतेका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय गरेको हो।
भारतीय प्रधानमन्त्रीको कार्यतालिकालाई ध्यानमा राखेर आपसी सहमतिमा भ्रमणको मिति तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ। अब बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति घोषणा गर्नेछ।
मे १० अर्थात् २७ वैशाखमा कर्नाटकामा चुनाव छ भने मे १९ अर्थात् ५ जेठमा भारतीय प्रधानमन्त्री मोदी केही दिनका लागि विदेश भ्रमणमा जाँदै छन्। त्यसैले चुनावअघि नै भ्रमणको तयारी गरिएको हो।
बीचमा कुनै ठूलो बाधा(व्यवधान नआए यो मिति तलमाथि नहुने स्रोत बताउँछ। सोहीअनुरुप परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन्। हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधानमन्त्री प्रचण्डले ग्रहण गरेका छन्।
तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको भारत भ्रमण पहिलो विदेश भ्रमण हुनेछ। गएको पुसमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने सार्वजनिक रूपमा बताएका थिए।