बैंक तथा वित्तीय संस्थामा निरन्तर रुपमा भइरहेको गैरकानूनी गतिविधिहरु रोक्न माग
काठमाडौं— बैंक तथा वित्तीय संस्था परिसंघको गत बिहिबार बसेको कार्य समितिको चौंथो बैठकले बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरुबाट विगत केही समयदेखि निरन्तर रुपमा भइरहेको गैरकानूनी गतिविधिहरु रोक्न माग गरेको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले सो कुरा बताएको हो । परिसंघले भन्यो “अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्धा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सादर निवेदन गर्दछौं ।”