नक्कली डकुमेन्ट बनाउँछ चितवनको अकारुई एजुकेशन

मंगलबार, १९ बैशाख २०८०

चितवन – चितवनको अकारुई एजुकेशन कन्सल्टेन्सीले नक्कली डकुमेन्ट बनाउने गरेको पाइएको छ । जापानको ताकाराजुका विश्वविद्यालयले ३१ जना विद्यार्थीको डकुमेन्ट फिर्ता गरिदिएपछि कन्सल्टेन्सीले विद्यार्थीको नक्कली डकुमेन्ट बनाइदिने गरेको पाइएको हो ।

जापानको ताकाराजुका विश्वविद्यालयले संचालन गरेको जापानीज भाषा अध्ययन कार्यक्रममा भर्नाका लागि पठाइएका डकुमेन्ट नक्कली भएको पाइएपछि विश्वविद्यालयले ३१ जना विद्यार्थीको डकुमेन्ट फिर्ता गरिदिएको छ । लामो समयपछि डकुमेन्ट फिर्ता भएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । विद्यार्थीको आक्रोश थेग्न नसकेपछि कन्सल्टेन्सीले विश्वविद्यालयलाई गुहारेको छ ।

कन्सल्टेन्सीका संचालक प्रज्वल पौडेलले विश्वविद्यालयले विद्यार्थीको सीओई एप्लाई नगरिदिएर उनीहरुको भविष्य वर्वाद पारिदिएको भन्दै क्षतिपुर्ति माग गरेको छन् । ‘हामीले नेपालबाट पठाएका विद्यार्थीको डकुमेन्ट इमिग्रेसनमा नपठाएर विश्वविद्यालयले ठूलो गल्ती गरेको छ ।’, मोटिभेट न्यूजसँगको टेलिफान संबादमा पौडेलले भने, ‘यसको क्षतिपुर्ति विश्वविद्यालयले तिर्नुपर्छ । हाम्रा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने अधिकार विश्वविद्यालयसँग छैन ।’

उनले विश्वविद्यालयमा कार्यरत एक जना कर्मचारीका कारण विद्यार्थीको डकुमेन्ट फिर्ता भएकाले क्षतिपुर्ति मागेको बताए । ‘विश्वविद्यालयमा कार्यरत एक जना कर्मचारीले कमाउन खोज्दा विद्यार्थीको डकुमेन्ट इमिग्रेसनमा नगएर फिर्ता आएको छ ।’, उनले भने, ‘यो केही कन्सल्टेन्सीसँग मिलेर डकुमेन्टमा बार्गेनिङ गरेका कारण भएको हो । हामीले विद्यार्थीको डकुमेन्टेशन गर्दा लागेको ४० हजार रुपैयाँ फिर्ता गरिदिन अपिल गरेका छौं ।’

उता विश्वविद्यालयले भरपर्दो डकुमेन्ट नभएकाले फिर्ता पठाएको जनाएको छ । ‘हामीले धेरै विद्यार्थीहरुको डकुमेन्टमा विश्वास नलागेपछि फिर्ता पठाएका छौं । विचौलियाहरुले गर्दा विश्वविद्यालयको बदनाम भएको छ ।’, सामाजिक संजाल ह्वाट्स्यापमार्फत सम्पर्कमा आएका विश्वविद्यालयका प्रतिनिधिले भने, ‘हाम्रो काम सीओई दिने होइन । हामीले हाम्रो सम्पर्कमा आएका डकुमेन्ट इमिग्रेसनमा पठाउने हो । भिसा दिने नदिने काम इमिग्रेसनको हो ।’

विश्वविद्यालयले सम्झौता अनुसार सिधै डकुमेन्ट पठाउने एजेन्सीहरुको समस्या नआएको जनाएको छ । ‘हामीले नेपालका एजेन्सीसँग सम्झौता गरेका छौं । सम्झौता अनुसार डकुमेन्ट पठाउने एजेन्सीहरुको फाइल इमिग्रेसनमा पठाएका हुन्छौं ।’, उनले भने, ‘तर इमिग्रेसनले रिजल्ट निकाल्न ढिलाई गरेको छ । अरु भाषा स्कुलहरुको रिजल्ट हुने मिति फिक्स गरिएको हुन्छ । विश्वविद्यालयको हकमा त्यो हुँदैन । इमिग्रेसनले चाहेको समयमा रिजल्ट गर्छ । त्यही भएर रिजल्टमा डिलाई भएको छ । विचौलियामार्फत आएको फाइलको हकमा हामीले वास्ता गर्दैनौं ।’

अकारुई एजुकेशनले विश्वविद्यालयसँग सम्झौता नगरी डकुमेन्ट पठाएकाले सिस्टमबाट विद्यार्थीको डकुमेन्ट फिर्ता भएको विश्वविद्यालयले जनाएको छ । ‘उहाँको हाम्रो विश्वविद्यालयसँग सम्झौता भएको देखिएन । विश्वविद्यालयको नियम अनुसार आएको डकुमेन्ट फर्वाड गरिएको छ । नियम विपरितका डकुमेन्ट फिर्ता भएका छन् ।’ उनले भने, ‘आकुराईका धेरै विद्यार्थीको सीओई आएको छ । भिसा पनि लागेको छ । उहाँले भनेअनुसार ३१ जनाको डकुमेन्टमा खोट देखिएपछि सिस्टमबाट फिर्ता भएको बुझिएको छ ।’

अकारुईका संचालक पौडेलले आफूले नक्कली डकुमेन्ट नबनाएको बताएका छन् । ‘हामीले नक्कली डकुमेन्ट बनाएको होइन । डकुमेन्टेशनबापत विद्यार्थीको लागेको शुल्क लिएका हौँ  । हामीले एकजना विद्यार्थी बापत ४० हजार लिएका छौं ।’, उनले भने, ‘विश्वविद्यालयका कारण डकुमेन्ट फिर्ता भयो । त्यसको केही दायित्व विश्वविद्यालयले पनि लिनुपर्छ भन्ने हो । यो समस्याको मिलेर समाधान गरौं भनेर विश्वविद्यालयलाई इमेल लेखिएको हो ।’

अकारुईले एक जना विद्यार्थीको शैक्षिक योग्यताको प्रमाणपत्र, बैंकिङ डकुमेन्ट, सम्पत्ति विवरण लगाएतका डकुमेन्ट बनाएबापत ४० हजार रुपैयाँ लिने गरेको छ । नक्कली डकुमेन्ट बनाएर भिसा आवेदन गर्दा भिसा नलागेपछि विद्यार्थी र उनका अभिभावकले पैसा फिर्ता मागेका छन्  । पौडेलले आफूले लिएको पैसा विश्वद्यिालयलाई तिराउन खोज्नु अनौठा घटना भएको विश्वद्यिालयले जनाएको छ । पौडेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनका कोषाध्यक्षसमेत हुन् । उनले आफ्नो पदको दुरुपयोग गर्दै विश्वविद्यालयसँग नक्कली डकुमेन्ट बनाएको पैसा मागेको विश्वविद्यालले जनाएको छ ।

मोटिभेट समाचार प्रभाव : आकारुईले फिर्ता गर्यो नक्कली डकुमेन्ट बनाउन लिएको पैसा