इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी
काठमाडौं— नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीका अनुसार फरार निरज नेपालमा छैन । निरजका बुवा इन्द्रजितलाई भने मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । द्वन्द्व विशेषज्ञ भनेर पनि चिनिने इन्द्रजित राई तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक-पटक गरी ५ करोड रकम लिएको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए ।