प्रधानमन्त्रीले बोलाएको बैठक बालेनद्वारा बहिष्कार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफल गर्न बोलाएको बैठक काठमाडौँ महानगरपालीकाका मेयर बालेन शाहले बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य मन्त्री र सचिव, वाग्मती प्रदेशका मुख्यमन्त्री, नुवाकोट र धादिङका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका मेयर तथा प्रशासकीय प्रमुख सहितलाई डाकिएको बैठक बालेनले बहिस्कार गरेका हुन् ।
बैठकमा सिसडोल र त्यस आसपासका सरोकारवाला नागरिक अगुवाहरूको उपस्थिति रहेको बैठकमा बालेन उपस्थित थिएनन् । प्रधानमन्त्री डाकेको उक्त बैठक बालेन शाहले बहिष्कार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
काठमाडौं महानगरपालिकाका तर्फबाट मेयर बालेनले सुरु गरेको अभियानमा संघीय सरकारले साथ नदिएको भन्दै केही समय अघि उनले सिंहदरबार र शितल निवासको फोहोर उठाउन रोकेका थिए ।
सर्वोच्चको आदेशपछि फोहोर भने उठाउन सुरु भइसकेको छ । त्यसपछि फोहोर फाल्ने क्षेत्रका जनप्रतिनिधि र स्थानीयको विगतमा गरेका सम्झौता पालना नभए फोहोर उठाउन रोक्ने चेतावनी सार्वजनिक भएको थियो ।