सलाम गर्ने होस् या सलामी खाने जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्छः गगन थापा

बुधबार, १० जेष्ठ २०८०

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सलाम गर्ने वा सलामी खाने जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्ने बताएका छन् ।

थापाले यो प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने आमनागरिकले हेरिरहेको पनि बताए । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘चाहे सलाम गर्ने वा सलामी खाने होस् जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्छ। ‘जसको नाम आएको छ उसलाई निष्पक्ष अनुसन्धान गरिनुपर्छ। कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारको पछि अब न्यायालयको पनि परीक्षा सुरू हुन्छ,’ उनले भने, ‘अदालतले मैले न्याय गरेँ भनेर मात्र पाउँदैन। न्यायको अनुभूति हुनुपर्छ।’

राज्यविरूद्धको अपराधमा संलग्न हुने एक(एक मानिसमाथि छानबिन हुनुपर्ने उनले बताए। ‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’ उनले भने, ‘अनुसन्धान कहीँ न कहीँ लप्पकाएको छ भन्ने भयो भने विकल्पहरूबारे खोजी हुन्छ र प्रश्न उठ्छ।’