बागमति प्रदेशमा २ सय ३७ शैक्षिक कन्सल्टेन्सी दर्ता, झण्डै ५ सय दर्ताको प्रक्रियामा

बिहिबार, १८ जेष्ठ २०८०

काठमाडौं – बागमति प्रदेशमा २ सय ३७ शैक्षिक कनसल्टेन्सी दर्ता भएका छन् । प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २ सय ३७ वटा शैक्षिक कन्सल्टेन्सीहरु दर्ता भएका हुन् ।

बुधबार विहानसम्मको तथ्याङ्क अनुसार झण्डै ५ सय शैक्षिक कन्सल्टेन्सी दर्ताको प्रक्रियामा रहेका छन्  । मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार ४ सय ९५ शैक्षिक कन्सल्टेन्सी दर्ताको प्रक्रियामा छन् । मोटिभेट न्यूज डटकमको आग्रहमा मन्त्रालयले बुधबार शैक्षिक कन्सल्टेन्सीहरुको लिष्ट सार्वजनिक गरेको हो ।

‘बागमती प्रदेश सरकारबाट जारी गरिएको ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७९’ अनुसार यस प्रदेश भित्र शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने संस्थाहरुलाई यस मन्त्रालयबाट अनुमति प्रदान गर्दै आएको व्यहोरा सबैमा अवगत छ ।’, बुधबार सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘यस मन्त्रालयमा रहेको विवरण अनुसार हालसम्म जम्मा ७३२ वटा संस्थाले अनुमति मागको निवेदन दर्ता गराएकोमा २३७ वटा संस्थाले अनुमति लिइसकेको र ४९५ वटा संस्थाको निवेदन दर्ता भई अनुमति लिने प्रकृयामा रहेको देखिन्छ ।’

मन्त्रालयको वेबसाइडमा सार्वजनिक गरिएको सूचनामा सबै शैक्षिक परामर्श केन्द्रको सम्पूर्ण विवरण डिजिटलाइज गर्ने क्रममा रहेको जनाइएको छ । संघिय सरकार अन्तरगतको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय १ हजार ४ सय ७३ शैक्षिक कन्सल्टेन्सीहरु दर्ता भएका छन् ।

संघमा दर्ता भएर संचालनमा रहेका सयौं कन्सल्टेन्सीहरुले प्रदेशमा पनि दर्ताका लागि आवेदन दिएका छन् । २०७९ साल भदौमा जारी भएको ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७९’ले प्रदेशमा अनिवार्य दर्ता हुनपर्ने प्रावधान राखेपछि धेरै कन्सल्टेन्सीले प्रदेशको सामाजिक मन्त्रालयमा दर्ताका लागि आवेदन दिएका हुन् ।

यता हेर्नुहोस् दर्ता भएका र दर्ता नभएका कन्सल्टेन्सीहरुको लिष्ट