एनआई सी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

सोमबार, २२ जेष्ठ २०८०

काठमाडौं – एनआई सी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । काठमाडौं बसुन्धारामा स्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने भएको हो ।

आइतबार हस्पिटल तथा बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि बैंकका ग्राहकले यस्तो खालको सुविधा पाउने भएका हुन् । बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले यो फाइदा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौता अनुसार स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट हुने दुबै पक्षबीच समझदारी भएको छ । डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पुर्याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको हो भने भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढावा दिनका लागि यस खालका सहकार्यलाई बढाउदै लैजाने लक्ष्य लिएको छ ।

मुलुकमा भुक्तानीको माध्यम उत्साहजनक रुपमा नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ । एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।