नक्कली शरणार्थी प्रकरणमा इजलास चलिरहदा आयो आरजु, मञ्जु, ओलीदेखि प्रचण्डसम्मको नाम

मंगलबार, २३ जेष्ठ २०८०

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस चलिरहेकोबेला इजलासमा आरजु, मञ्जु, ओलीदेखि प्रचण्डसम्मको नाम आएको छ ।

आरोपितहरुले बयानका क्रममा नाम लिएका डा:अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्य,  नैनकला थापा,  एवं कांग्रेस नेतृ डा: आरजु राणा देउवा,  मञ्जु खाँण र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नाम आएको हो।

इजलासमा आरजु, मञ्जु, ओलीदेखि प्रचण्डसम्मको नाम  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम पोलेकाले उनीहरुको पनि बयान लिनुपर्ने माग समेत गरिएको बुझिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको अभियमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकराज पाण्डे, हज समितिका अध्यक्ष शमशेर मिँया लगायतका हाई प्रोफाइलहरु पक्राउ परिसकेका छन् । उनीहरुको बयान सकिएर गत आईतबारदेखि थुनछेक बहस सुरु भएको हो ।

जाहेरीकर्ताको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपितहरुले नाम पोलेकाहरुको पनि बयान लिइनुपर्ने माग इजलाससमक्ष राखेका थिए । जाहेरीकर्ताले नाम पोलेको भरमा कोही मुद्दा चलेर थुनामा बस्नु पर्ने र कसैले उन्मुक्ति पाउनुले अन्याय भएको उनले बताए ।