पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएन, गलत प्रचार मात्रै गरियोः अर्थमन्त्री
काठमाडौं— अर्थमन्त्री प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार भएको बताएका छन्।
उनले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताएका हुन्। संसदमा उठेका विषयमा जवाफ दिँदै उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ। यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तिमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पूँजीगत खर्च नै हो।’
कम्तिमा १ करोड रुपैयाँ घटीको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै भएको उनले प्रष्ट पारे। ‘माननीयले त सिफारिश मात्रै गर्ने हो। सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन,’ उनले भने। निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाइ थियो।