माछापुच्छ्रेका वडाध्यक्ष रामबहादुर गुरुङ प्रहरी हिरासतमा
काठमाडौं— कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्ष रामबहादुर गुरुङ प्रहरी हिरासतमा पुगेका छन्।
प्रवक्ता डिएसपी श्रवणकुमार विकको अनुसार उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि बुधबार साँझ गुरुङ पक्राउ परेका हुन्। हिजो जाहेरी दर्ता भएपछि आज जिल्ला प्रशासनबाट पक्राउ पुर्जी जारी भएको थियो,’ उनले भने, ‘उहाँ आँफै आउनुभएको हो, हामीले नियन्त्रणमा राखेका छौं।’
वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले प्रहरीमा जाहेरी दिएका थिए। उक्त सडकमा नाली बनाउने र जाली भर्ने कामका लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।
चैतमा उपभोक्ता समिति गठन भएर पनि जेठमा मात्रै निर्माण सम्झौता गरेको, उपभोक्ता समितिले गैरकानुनी रुपमा ठेक्का लगाएको, काममा ढिलासुस्ती गरेको र गुणस्तरहिन काम गरेको भन्दै वडाध्यक्ष गुरुङले उपभोक्ता समिति अध्यक्ष भण्डारीलाई सचेत गराएको बताएका थिए। सडकको अनुगमन गर्न ६ पटक जाँदा पनि भेट नभएको र काम नगरेकाले सचेत गराउँदा कुटपिटको आरोप लगाएको वडाध्यक्ष गुरुङको दाबी छ ।
नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष बनेका गुरुङले एमालेका उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट गरेको भन्दै बुधबार एमालेले वडा कार्यालयमा ताला लगाएको थिए। एमाले गण्डकीका नेता एवं माछापुँच्छ्रे गाउँपालिकाका पूर्वअध्यक्ष कर्णबहादुर गुरुङ, वडा ८ का पूर्व वडाध्यक्ष कृष्ण धिताल लगायतका टोलीले लगाएको ताला बुधबार नै खोलिएको प्रहरीले जनाएको छ।