ललिता निवास प्रकरणमा मेरो नाम जोडिए पनि म आत्तिएको छैनः माधवकुमार नेपाल

मंगलबार, २६ असार २०८०

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफ्नो नाम जोडिए पनि आफु कत्ति पनि नआत्तिएको कुरा बताएका छन् । उनले यो सबै कुरामा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको पनि बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री हुँदैमा सबै विषयको दोषी हुने र त्यसको सबै अपजस लिनुपर्ने भन्ने नहुने बताए । ‘यो प्रकरणको उचित छानबिन हुनुपर्छ, मेरो पनि नाम जोडिएको छ । मसहित धेरै पूर्व प्रधानमन्त्रीको नाम जोडिएको छ । अनावश्यक विवादमा तान्ने प्रयास भएको छ । म छानबिनको विरोधी होइन तर गलत प्रचार गर्न त भएन नि । उचित छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ । यसलाई छिटो टुंगो लगाउनुपर्दछ ।’

उनले भने, ‘न्यायसंगत छानबिन हुन्छ भन्ने विश्वास छ, यसमा त म मात्रै होइन पूर्व प्रधानमन्त्रीहरू धेरैको नाम जोडिएको छ, त्यस कारणले पनि यस्ता विषयले समाजमा नकारात्मक भावना फैलाउँछन् छिटो निकास निकाल्नुपर्छ ।’ नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताए ।

उनले सबै सरकारी जग्गाको अनियमितताबारे छानबिन गर्नुपर्ने, नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन हुनुपर्ने बताए । ‘त्यसो भयो भने आम मान्छे डराउँछन्। जसले गर्दा अनियमितता, अतिक्रमण रोकिन्छ, र भ्रष्टाचार पनि नियन्त्रण हुन्छ’ उनले भने, नेपाल ट्रस्टको जग्गादेखि लिएर सरकारी जग्गाको हिनामिना भएको देखिएको नेता नेपालले बताए ।

उनले भने, ‘यस्ता सबै जग्गाको छानबिन भएर कारबाही भयो भने बल्ल मान्छे डराउने अवस्था आउनेछ । होइन भने अवस्था अझ बिग्रिँदै जान्छ । राज्यको सबै निकायको हालत उस्तै भएकाले सुधार गर्दै अघि बढ्नु जरुरी छ ।’ यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको नेपालले बताए ।